Wednesday, January 29, 2020

आँफै बेहोशी भएँ ।

इश्वर भन् त उनलाई बनाउन कति मिहेनत पर्यो?
साच्चै सर्वगुण सम्पन्न इशुलाई हेरिरहने लत पर्यो।

उमेर सायद पाँचैको अन्तर भएनि परिपक्क उनी
प्रेमभाव पलायो मनमा बोलिरहने बानी फगत पर्यो।

ति नयनहरुमा यस्तो एउटा नशा छ कि लठ्ठिरहने
आँफै बेहोशी भएँ भोक, प्यास, निन्द्रा जफत पर्यो।

समर्पण
ज्योति अनिश्चित
2076 -10-15

Tuesday, January 28, 2020

तिमी भैदिए।

बहार आउने थियो जिवनमा तिमी भैदिए।
न्यानो माया र प्रेमभाव तनमा तिमी भैदिए।

दलिन मेरो कति उज्यालो हुने थियो होला ?
नाच्दा छमछम गृयस्ती धुनमा तिमी भैदिए।

वास्ना चल्थ्यो होला मगमगाएर घरआँगनमा
ग्लानी सायद हुने थिएन मनमा तिमी भैदिए।

लेकमा फुलेकी चमेली तिमी म बगरको ढुङ्गा
अनिश्चितता बढ्छ झन् बेचैनमा तिमी भैदिए।

समर्पण
ज्योति अनिश्चित
२०७६ -१०-१४
दिवा २:३० 

Monday, January 27, 2020

भुगर्भशास्त्रीको नजरमा ...

चट्टानमा कुँदिएको छु, पहिले म प्रगाढ थिएँ।
भुगर्भशास्त्री भन्छन् यावत प्राचिन प्रमाण थिएँ।

मेरा बङ्गारा सुरक्षित रहेछ साहारा मरूभुमीमा
क्रेटासियस अवधीमा जंगलको म दहाड थिएँ।

अहिले जे देख्छौ हराभरा र जलामय पृथ्वी
जीवको उत्पति हुनुपूर्व म तातो र उजाड थिएँ।

तिम्रा प्राचिन सभ्यताभन्दा पहिलेकै कुरा हो
तिमी महाप्रलय भन्छौ, मेरालागि चाड थिए।

मनमनै गम्दा हुन् ति कलेटि परेका फाँटहरुले
धुलिनु अघि म पनि भरिलो पुष्ट पहाड थिएँ।

ज्योति अनिश्चित। 

Sunday, January 19, 2020

पण्डुलिपीमा मेरो कहानी ।

आजकल मेरो दिल एउटा परिसानीमा हुन्छ।
जस्तै छेद परेको पानीजहाज पानीमा हुन्छ।

सायद छिद्र सानो होला टालटुल पार्न सके
जब सोच बिपरित हुन्छ अनि हैरानीमा हुन्छ।

यि नेत्रपटलमा नामेट कुँदिएको छ आकृति
बन्द नयनले नि देख्छ आँखाको नानीमा हुन्छ।

त्यो कथामा साच्चै कारुणिक भाव झल्किन्थ्यो
जुन उपन्यासको पण्डुलिपी मेरो कहानीमा हुन्छ।

ज्योति अनिश्चित।
2020 जनवरी 19

Sunday, January 12, 2020

सुन्दर आकुरा तिमी।

जगतमा एउटा सुन्दर आकुरा तिमी।
मुलायम हिमकपासको टाकुरा तिमी।

नारी गुण गंगासरी, प्रकृतिझैँ मनोरम
अनमोल मोती रत्नजडित चुरा तिमी।

धिमा हुन् तिम्रा शत्रु क्षय भए बाधाहरु
कार्य सिद्द हुन् यहि कामना पुरा तिमी।

रिक्त यो मुटुभित्र रित्तिएछन् चाह पनि
अठोटहरु पुर्ण हुन् रहन्नन् अधुरा तिमी।

ज्योति खतिवडा अनिश्चित।
२०७६-०९-२७