Thursday, March 13, 2025

पहाड थाम्न सक्छु।



म  अजङ्गको पहाड थाम्न सक्छु।
हर वक्त दिनदहाड थाम्न सक्छु।  

कसैले खोसेर कदापि खोस्न सक्दैन
हिफाजतसंग च्यादर माड थाम्न सक्छु।

बालीनाली नखाए पनि बिगार गर्ने
उन्मत्त अनि अटेरी साँढ थाम्न सक्छु।  

वेदनाका हुरीबतास जति चले पनि
अटल पहराझैं उजाड थाम्न सक्छु।  

सपनाहरू टुटेनि विश्वासीपात्रको
भरोषाविश्वास प्रगाढ थाम्न सक्छु। 

तिन बिष काटेको जिर्ण शरीरको,  
सास रहुन्जेल हाड थाम्न सक्छु। 
 
यो नश्वर चोला‌को छोटो यात्रामा,  
हरेक पर्व चाडवाड थाम्न सक्छु।

ज्योति अनिश्चित
२०८१-फाल्गुण २९ 

तारा झार्ने जुनुन ?

दिनको घाम कि रातको जुन लिएर आऊ ?
कि चिसा तारा झार्ने जुनुन लिएर आऊ ?

यो कलिमा, आफ्नु सामान आफै किन्नु पर्ने
अब भन, म कति चानचुन लिएर आऊ ?

खुकुरी होइन, ब्लेड हो – दुबैतिर काट्छ
काटेसी, मलम पट्टी कि नुन लिएर आऊ ?

नगरले नभएसी, न्यायपालिकामै जाउँला
केही सल्लाह छ कि, कुन कानुन लिएर आऊ ?

बाले सन्चयकोष झिकेर माटो किनेका हुन्
माटो माथि छाउन आमाको सुन लिएर आऊ ?

कुनै दाग लुगामा, साह्रै जिद्दी हुँदा रहेछन्
धुलाउन कुन सरफ कि साबुन लिएर आऊ ?

ज्योति अनिश्चित
२०८१-फाल्गुण २८ 

कसैको दाबी हुँदैन।

बन्द तालाको एउटामात्र चाबी हुँदैन।
सय झूट एक सत्य माथि हावी हुँदैन।

उसले चोरेर ल्याएको अङ्क हुन सक्छ  
पूर्णाङ्क ल्याउँदैमा जो कोही मेधावी हुँदैन।

मैले देखेको, भोगेको र सुनेको कुरा पोखेँ  
दावा गर्दैमा यो मनमा कसैको दाबी हुँदैन।  

कहिलेकाहीँ फाइदाजनक नि हुन सक्छ  
थोरै सराब पिउँदैमा कोही सराबी हुँदैन।  

कसरी भन्छौ आखिर हाँगो एउटै हो भनी  
देखेँछु जुम्ल्याको पनि एउटै नावी हुदैन।

ज्योति अनिश्चित 
२०८१ फाल्गुण २७ 

परपीडक चाहिदैन।

मेरो गन्तव्यमा नपुर्याउने त्यो सडक चाहिदैन,  
चाहे आफन्त नै किन नहुन्, परपीडक चाहिदैन। 

म स्वाभलम्बी छु, आफ्नो कर्म आफैं गर्छु,
तिमीबाट आशै गर्दिनँ, त्यो नाता रगत चाहिदैन।

जब नीयतमा खोट हुन्छ, प्रतिष्ठामा आँच आउँछ,
जिउनुमा त परै जाओस्, मरेको बखत चाहिदैन।

न खोजेथे तिम्रो साथ कहिल्यै, न गुहार मागेथे,
यदि तिम्रो स्वार्थ रहेछ भने, भो! मदत चाहिदैन।

मिहेनत मेरो सङ्गी हो, आँट मेरो अस्त्र,
मलाई नछुनु, नचलाउनु, तडकभडक चाहिदैन।

मलाई मेरो छायाले मात्रै साथ दिए पुग्छ,
पाइलैपिच्छे छुरा घोप्ने, मलाई सङ्गत चाहिदैन।

मेरा सपना बिउँझाउने, संघर्ष नै मेरो ऊर्जा हो।
मलाइ म नै रहन देउ, तिमी फगत चाहिदैन ।

ज्योति अनिश्चित
२०८१ -११-२५ 

Saturday, February 8, 2025

बाल्यकाल नै चुन्थे होला।

नयाँ नाना किनिमाग्न, म सानोमा रुन्थे होला।
फेरि सानो हुन पाए, म सानो हुन्थे होला।

विश्वास नि कति हुँदो, रोइदिए सारा मिल्ने,
फेरि पनि खुशी हुन, बाल्यकाल नै चुन्थे होला।

जब हेर्छु छोरीलाई, आमा बाबालाई लाग्दो हो 
बाउ सानैमा यस्तै थियो, बुबा जस्तै हुन्छे होला।

मेरो लागि सपना छ, दायित्व र जिम्मेवारी,
तीन पुस्ताको खुशी एउटै मालामा उन्थे होला।

बसमा भए जोगाइ राख्थे, साना अमुल्य क्षण
समयलाई कैद गर्न, समयलाई नै थुन्थे  होला ।

ज्योति अनिस्चित 



म हलो लिएर आउनेछु ।

यो सन्नटालाई चिर्न म खलो लिएर आउनेछु ।
भोकै बस्नु पर्दैन म कलो लिएर आउनेछु ।

तिमीलाई मैले धेरै पहिल्यै बिर्सिसकेथें
पृथक नाम आफै दिइ गलो लिएर आउनेछु ।

तिमीले बाझै राखेको त्यो पाखो बारीमा
उब्जाउनु छ धेरै, म हलो लिएर आउनेछु ।

उब्जनी होला नहोला त्यो बन्जर टुक्रामा
चिन्ता नगर यारा म मलो लिएर आउनेछु ।

समयले बिनासित्तिमा बदनामी गराइदिएछ 
बुराइको जमाना म भलो लिएर आउनेछु ।

ज्योति अनिस्चित 
२०२५-०२-०७


Monday, January 27, 2025

खुशी एक क्षण न हो।

जीवनको शाश्वत सत्य जन्म र मरण न हो,
हरेक पलको खेल, यो सृष्टिको चरण न हो।

आउँछौं यहाँ, केही समयमा चिन्ह छोड्छौं,
अन्त्यमा सबैलाई अमरापुरीको शरण न हो।

कृत्रिम क्षणिक खुशी र दुःखको यो चोला,
अरू रुवाइ लिएको खुशी एक क्षण न हो।

सम्झना बाँच्छन् कोही, मनमा कहिलेसम्म,
देख्नेले देख्दा हुन्, केवल आवरण न हो।

टिक्दैन बालुवाको महल र झुटको खेती,
लिई जानु केही छैन, सत्कर्म वरण न हो।

जन्म र मरणको बीचमा रहेको यो यात्रा,
म तिम्रो, तिमी मेरो भन्नु त अर्पण न हो।

रचना : ज्योति अनिस्चित 
२०२५-१-२६ 

Wednesday, January 15, 2025

बज्र पनि बज्रिनु पर्ने छाती बनाइदेऊ।

जिन्दगीमा तनावलाई नै साथी बनाइदेऊ,
मनको बहलाई पनि स्वयम् माथि बनाइदेऊ।

जहाँ जहाँ आँसु खस्छन् यादका कारण,
पारिजातको मुस्कान त्यही राती बनाइदेऊ।

तिमीलाई दुश्मनले त झन् के नै गर्न सक्छ र?
बज्र पनि बज्रिनु पर्ने आफ्नु छाती बनाइदेऊ।

हावा जसरी स्वतन्त्र उड्न पर्खिरहने,
नजाती परिस्थितिलाई नि जाती बनाइदेऊ।

जिन्दगी हो, संघर्षले मात्र अर्थ पाउँछ,
हर पीडालाई नै तिमी सहयात्री बनाइदेऊ।

Tuesday, January 14, 2025

रुन्छ कहिलेकाहीं।

चसक्क यो छाती दाया सुन्छ कहिलेकाहीं।
न्याउरी झै यो मन पनि रुन्छ कहिलेकाहीं।

द्रष्टव्य तिमीलाई हरेक श्वासले खोजेपनि,
म हुन्न समीपमा, मन त्यतै, हुन्छ कहिलेकाहीं।

निरन्तर व्यस्त भइन्छ, समय छुट्याउन पो गाहो,
मिल्ला नि मिठो साथ, मन छुन्छ कहिलेकाहीं।

शब्द-शब्दले सुझाव दिन्छौ, म जनाएँ सहमति,
रहर छ आडमा बस्ने, निकट जुन छ कहिलेकाहीं।

समर्पण:
रचना : ज्योति अनिश्चित

अपराधको सूचीमा नाम मेरो लेखाइदिएँ

कहिलेकाहीँ थोरै पिउने म सराबी भइदिएर
निसंकोच भनिदिने मेरो खराबी भइदिएर।

अपराधको सूचीमा नाम मेरो लेखाइदिएँ,
आफ्नै धड्कनमा नि उनको दावी भइदिएर।

आफ्नै मनका कुरा बुझ्न सक्ने कोही छैन,
पराई नै ताला, पराई नै चावी भइदिएर।

मैले न्याय जोगाउन शस्त्र उठाएको हुँ,
सत्यको बाटोमा कैयौ झूट हाबी भइदिएर।

भूल कति गर्‍यो भन्दै मलाइ दोष लगाइन्छ,
हान्नुछ झापड तिनीहरूलाई मेधावी भइदिएर।

ज्योति अनिश्चित
२०२५-०१-१३ 

Saturday, January 4, 2025

को हो भनि उल्झेकी ?

कमल जस्तै देख्छु तिमीलाई, हिलोमै फुलेकी।
विनाकारण रखिदिए है, को हो भनि उल्झेकी ?

ताराहरूले पनि ईर्ष्या गर्ने, के छ खास कुन्नि,
दयालु स्वभावले मन जित्ने कर्ममा सधैं जुटेकी।

हारेर नि जितिदिने, आशाका दीप बन्नु तिमी 
लवाज नै कति प्यारो, मिठास मनभरि भरेकी ।

रचना : ज्योति अनिश्चित 
२०२५-०१-०४
 

आयु घटाइरहेछु ।

दुरायूको लागी अहिले आयु घटाइरहेछु ।
सुखका खातिर खुशी अनायु घटाइरहेछु ।

मैले किन्न खोजेको मेरा सपनाहरु हुन्
सपनाको मलामी जाने परायु घटाइरहेछु ।

मेरो रक्षार्थ मेरो हिम्मत र भरोशास्तम्भ 
अनायक अघिपछिका जटायु घटाइरहेछु ।

नाप्तौल गर्दा विज्ञानले बढेको भन्ला तर 
आभाष हुन्छ आफ्नु कायु घटाइरहेछु ।

मैले फेरेको हावा पनि गरुङ्गो हुदोँ हो
खुम्चिएर लाग्छ त्यो वायु नि घटाइरहेछु ।

रचना : ज्योति अनिश्चित 
२०२५-०१-०३