Tuesday, February 24, 2026

जो कहिल्यै बदलिँदैन।

केही कुरा यस्ता  हुन्छन् अनुचित, जो कहिल्यै बदलिँदैन।
ती आमाहरूको काख रिक्त्त, जो कहिल्यै बदलिँदैन।

मैले चौध वर्ष जेलजीवन बसेको बारम्बार भन्ने गरेको छु,
हत्या को सजाय भोगेको सर्वविदित जो कहिल्यै बदलिँदैन।

म रेल, पानीजहाज ल्याउँछु भन्ने भ्रमको राज्य थियो मेरो,
मेरो उखान–टुक्कामा रोमाञ्चित, जो कहिल्यै बदलिँदैन।

यहाँ भ्रम छिराएँ मैले नै : के पहिले भयो भन्ने बहानामा,
रित्तियो काख अनि सिंहदरबारमा दीप, जो कहिल्यै बदलिँदैन।

मैले मेरै सहपाठीसँग मिलेर संसद बिउँताउन खोजेँ,
हामी एकै ड्याङ्गको मुला: आरोपित जो कहिल्यै बदलिँदैन।

वृद्ध भत्ताको श्रेय लिन्छु म, गोली हान्ने आदेश को होइन,
राम्रा काममा मात्रै मेरो दाबी गीत जो कहिल्यै बदलिँदैन।

तैँले उचालिस्, तैँले भड्काइस्, सिंहदरबार नि जलाइस्,
GenZको लासमा राजनीति र आरिस जो कहिल्यै बदलिँदैन।

गिरिबन्धुमा नीतिगत भ्रष्टाचार, कांग्रेस चुप एमाले चुप,
सत्ताको संस्कारले गर्छ देशको अहित, जो कहिल्यै बदलिँदैन।

आफ्नु अनुकूलका सबै श्रव्य दृश्य like र share गर,
प्रतिकूलका सबै प्रमाण AI जीवित, जो कहिल्यै बदलिँदैन।

मेरा आफ्नै सन्तान भए पो सन्तानको माया लाग्थ्यो,
जो मर्छन्, अपडेट हुन्छ लिस्ट सहिद, जो कहिल्यै बदलिँदैन।