Friday, December 27, 2024

आफ्नै नजिर पिरोल्छ ।

कहिले विगत कहिले भविष्यको पिरले पिरोल्छ ।
मलाई मेरो आफ्नै विचार र तकदिरले पिरोल्छ ।

यो मन कहिले जान्छ सात समुन्द्र पारी जहाँ 
तन विनाको मन बोकी हिड्ने फकिरले पिरोल्छ ।

म खुला छु, मनमौजी गर्छु भनेर नि हुन्न यहाँ 
आफैलाई जकड्ने दाहित्वको जन्जिरले पिरोल्छ ।
 
बारीको पाटो बन्धक राखी म विदेश आएको हुँ
अढाइ वर्ष अघी विदाइको त्यो अबिरले पिरोल्छ ।

बाआमाहरु थलिदै गए लालाबाला हुर्किदै छन्
कर्तव्य र जिम्मेवारीवोध; यो शरिरले  पिरोल्छ ।

नियाल्छु र देख्छु अघी र पछिका शृङ्खलाहरु 
विमूढ़ हुन्छु पर्दा लाग्छ, आफ्नै नजिर पिरोल्छ । 

म, मेरो, ममा, मलाई, मदेखि, मबाट टाढाटाढा
यो शरिर स्थिर, चन्चल मन अस्थिरले पिरोल्छ ।

मैले परिकल्पना गरेको एउटा सुन्दर भविष्य
सहित त्यो सानो परिवारको तस्विरले पिरोल्छ ।

रचना: ज्योति अनिश्चित
२०२४-१२-२६ 

Tuesday, December 17, 2024

शिक्षाको ज्योतिले

कुरितिको जालो फाल्न सिकाउनु शिक्षाको ज्योतिले ।
शुसासन र प्रगती पथ देखाउनु शिक्षाको ज्योतिले ।

म दुर बसी उज्ज्वल भविष्यको कामना गरिरहन्छु
पौरखी बन्न सानालाई प्रेरित गराउनु शिक्षाको ज्योतिले ।

डेग नचल्नु यदि गलत लाग्छ भने कहिले- केहि कतै
लवज र आदत सधै स्वच्छ जताउनु शिक्षाको ज्योतिले । ।   

समर्पण 
२०८१ पुष ०२

Tuesday, December 3, 2024

प्रिय तिमी धन्य छौ

म जस्तो छु , त्यस्तै स्विकार्ने, प्रिया तिमी धन्य छौ ।
म  कमजोर हुँदा स्याहार्ने,  प्रिया तिमी धन्य छौ ।

जुनताराको सपना कहिल्यै देखाइनँ, तिमी भुइमै रमायौ
हाम्रो लागि आफ्नै खुसी मार्ने, प्रिया तिमी धन्य छौ ।

स्वतन्त्रताको नाममा कहिले बाटो भुलेँ भने पनि,
मायाको स्पर्शले  सुधार्ने, प्रिया तिमी धन्य छौ ।

विरक्त्तिएर आशाका पालुवाहरु निमोठीरहदा
आशाको टुसाहरु उमार्ने, प्रिया तिमी धन्य छौ ।

यो दुनियाँ स्वार्थी छ, छलकपटले भरिएको,
निसङ्कोच ति कुरा टार्ने, प्रिया तिमी धन्य छौ ।

२०८१ -०८-१४
2024-11-29

अकवरी जाच्न कसी लगाउँ कि ?

नेत्रपटलमै कैद गरी लुकाउँ कि तिमीलाई ?
रित्तो यो हृदयमा फुकाउँ कि तिमीलाई ?

सालीन विचार अनि शोभनिय व्यहभार 
पोतेर श्रीङ्गार रस सुकाउँ कि तिमीलाई ?

खम्वा झै अविचलित, मुहारमा निखारता
रेखा धमनी र शिरामा सिंचाउँ कि तिमीलाई ?

लवलिन नेरिसा हो भनि प्रमाण दिलाउन
अकवरी जाच्न कसी लगाउँ कि तिमीलाई ?

समर्पण
रचना ज्योति अनिश्चित
२०२४-१२-०३