Monday, January 27, 2025

खुशी एक क्षण न हो।

जीवनको शाश्वत सत्य जन्म र मरण न हो,
हरेक पलको खेल, यो सृष्टिको चरण न हो।

आउँछौं यहाँ, केही समयमा चिन्ह छोड्छौं,
अन्त्यमा सबैलाई अमरापुरीको शरण न हो।

कृत्रिम क्षणिक खुशी र दुःखको यो चोला,
अरू रुवाइ लिएको खुशी एक क्षण न हो।

सम्झना बाँच्छन् कोही, मनमा कहिलेसम्म,
देख्नेले देख्दा हुन्, केवल आवरण न हो।

टिक्दैन बालुवाको महल र झुटको खेती,
लिई जानु केही छैन, सत्कर्म वरण न हो।

जन्म र मरणको बीचमा रहेको यो यात्रा,
म तिम्रो, तिमी मेरो भन्नु त अर्पण न हो।

रचना : ज्योति अनिस्चित 
२०२५-१-२६ 

Wednesday, January 15, 2025

बज्र पनि बज्रिनु पर्ने छाती बनाइदेऊ।

जिन्दगीमा तनावलाई नै साथी बनाइदेऊ,
मनको बहलाई पनि स्वयम् माथि बनाइदेऊ।

जहाँ जहाँ आँसु खस्छन् यादका कारण,
पारिजातको मुस्कान त्यही राती बनाइदेऊ।

तिमीलाई दुश्मनले त झन् के नै गर्न सक्छ र?
बज्र पनि बज्रिनु पर्ने आफ्नु छाती बनाइदेऊ।

हावा जसरी स्वतन्त्र उड्न पर्खिरहने,
नजाती परिस्थितिलाई नि जाती बनाइदेऊ।

जिन्दगी हो, संघर्षले मात्र अर्थ पाउँछ,
हर पीडालाई नै तिमी सहयात्री बनाइदेऊ।

Tuesday, January 14, 2025

रुन्छ कहिलेकाहीं।

चसक्क यो छाती दाया सुन्छ कहिलेकाहीं।
न्याउरी झै यो मन पनि रुन्छ कहिलेकाहीं।

द्रष्टव्य तिमीलाई हरेक श्वासले खोजेपनि,
म हुन्न समीपमा, मन त्यतै, हुन्छ कहिलेकाहीं।

निरन्तर व्यस्त भइन्छ, समय छुट्याउन पो गाहो,
मिल्ला नि मिठो साथ, मन छुन्छ कहिलेकाहीं।

शब्द-शब्दले सुझाव दिन्छौ, म जनाएँ सहमति,
रहर छ आडमा बस्ने, निकट जुन छ कहिलेकाहीं।

समर्पण:
रचना : ज्योति अनिश्चित

अपराधको सूचीमा नाम मेरो लेखाइदिएँ

कहिलेकाहीँ थोरै पिउने म सराबी भइदिएर
निसंकोच भनिदिने मेरो खराबी भइदिएर।

अपराधको सूचीमा नाम मेरो लेखाइदिएँ,
आफ्नै धड्कनमा नि उनको दावी भइदिएर।

आफ्नै मनका कुरा बुझ्न सक्ने कोही छैन,
पराई नै ताला, पराई नै चावी भइदिएर।

मैले न्याय जोगाउन शस्त्र उठाएको हुँ,
सत्यको बाटोमा कैयौ झूट हाबी भइदिएर।

भूल कति गर्‍यो भन्दै मलाइ दोष लगाइन्छ,
हान्नुछ झापड तिनीहरूलाई मेधावी भइदिएर।

ज्योति अनिश्चित
२०२५-०१-१३ 

Saturday, January 4, 2025

को हो भनि उल्झेकी ?

कमल जस्तै देख्छु तिमीलाई, हिलोमै फुलेकी।
विनाकारण रखिदिए है, को हो भनि उल्झेकी ?

ताराहरूले पनि ईर्ष्या गर्ने, के छ खास कुन्नि,
दयालु स्वभावले मन जित्ने कर्ममा सधैं जुटेकी।

हारेर नि जितिदिने, आशाका दीप बन्नु तिमी 
लवाज नै कति प्यारो, मिठास मनभरि भरेकी ।

रचना : ज्योति अनिश्चित 
२०२५-०१-०४
 

आयु घटाइरहेछु ।

दुरायूको लागी अहिले आयु घटाइरहेछु ।
सुखका खातिर खुशी अनायु घटाइरहेछु ।

मैले किन्न खोजेको मेरा सपनाहरु हुन्
सपनाको मलामी जाने परायु घटाइरहेछु ।

मेरो रक्षार्थ मेरो हिम्मत र भरोशास्तम्भ 
अनायक अघिपछिका जटायु घटाइरहेछु ।

नाप्तौल गर्दा विज्ञानले बढेको भन्ला तर 
आभाष हुन्छ आफ्नु कायु घटाइरहेछु ।

मैले फेरेको हावा पनि गरुङ्गो हुदोँ हो
खुम्चिएर लाग्छ त्यो वायु नि घटाइरहेछु ।

रचना : ज्योति अनिश्चित 
२०२५-०१-०३