हिजोको
पीडा झ्यालबाहिरको घामजस्तै पोल्ने छ,
तर फेरि उठ्न थाल्छु
– टुक्रा टुक्रा भएर पनि।
आशै आशामा – म हरेक बिहान
अलार्मसँगै उठ्छु,
र फेरि पनि… बाँच्न
थाल्छु – टुक्रा टुक्रा भएर पनि।
जिन्दगी सजिलो छैन यहाँ, मनमा
शान्ति हुँदैन,
सम्भावनाको झिल्को, कि चिराग हुन्छ
कि खरानी।
कसैलाई देखाउन सकिन्न मथिङ्गलभित्रको हुर्मत,
र फेरि पनि… हाँस्न
थाल्छु – टुक्रा टुक्रा भएर पनि।
निन्द्राले चिप्लिएको आँखा, थाकेको शरीर ढल्छ,
म चाहन्छु निद्रा माग्न — तर समय गाली
गर्छ अनि।
तिमीले सोचेजस्तो छैन विदेशमा, आफ्नै
भाषा हराएको,
तर समय फेरि पनि
काट्न थाल्छु – टुक्रा टुक्रा भएर पनि।
साथीहरू सँगै छैनन्, हाँसोको
ठाउँमा शून्यता छ,
भात खानु अगाडि फोन
हेरेर घर सम्झिन्छुकेही नभनि।
बाँचिरहेछु म, टुक्रा टुक्रा
सपनालाई जोड्दै,
फेरि आफैलाई ढाट्न थाल्छु – टुक्रा टुक्रा भएर पनि।
मेरो स्वतन्त्रता, मभित्रको “म” हराइरहेको छ,
फोटोमा हाँसो देखिन्छ, मनभित्र पीडा हुन्छ सनसनी।
जिम्मेवारी, एक्लोपन र सामाजिक जीवनको
अन्तर्द्वन्द्वमा,
फेरि मेरो भविष्य साट्न
थाल्छु – टुक्रा टुक्रा भएर पनि।
छातीभित्र कहिल्यै नरोएको रुवाइ थुनिएको छ,
दैनिक नाटक चलिरहेको छ,
“म ठीक छु” भनि।
तर भित्र कतै — आशाले अझै काँपिरहेको हुन्छ,
र त, म फेरि
पनि बाँच्न थाल्छु – टुक्रा टुक्रा भएर पनि।
ज्योति अनिश्चित
जुन १६, २०२५
No comments:
Post a Comment