Thursday, March 13, 2025

पहाड थाम्न सक्छु।



म  अजङ्गको पहाड थाम्न सक्छु।
हर वक्त दिनदहाड थाम्न सक्छु।  

कसैले खोसेर कदापि खोस्न सक्दैन
हिफाजतसंग च्यादर माड थाम्न सक्छु।

बालीनाली नखाए पनि बिगार गर्ने
उन्मत्त अनि अटेरी साँढ थाम्न सक्छु।  

वेदनाका हुरीबतास जति चले पनि
अटल पहराझैं उजाड थाम्न सक्छु।  

सपनाहरू टुटेनि विश्वासीपात्रको
भरोषाविश्वास प्रगाढ थाम्न सक्छु। 

तिन बिष काटेको जिर्ण शरीरको,  
सास रहुन्जेल हाड थाम्न सक्छु। 
 
यो नश्वर चोला‌को छोटो यात्रामा,  
हरेक पर्व चाडवाड थाम्न सक्छु।

ज्योति अनिश्चित
२०८१-फाल्गुण २९ 

तारा झार्ने जुनुन ?

दिनको घाम कि रातको जुन लिएर आऊ ?
कि चिसा तारा झार्ने जुनुन लिएर आऊ ?

यो कलिमा, आफ्नु सामान आफै किन्नु पर्ने
अब भन, म कति चानचुन लिएर आऊ ?

खुकुरी होइन, ब्लेड हो – दुबैतिर काट्छ
काटेसी, मलम पट्टी कि नुन लिएर आऊ ?

नगरले नभएसी, न्यायपालिकामै जाउँला
केही सल्लाह छ कि, कुन कानुन लिएर आऊ ?

बाले सन्चयकोष झिकेर माटो किनेका हुन्
माटो माथि छाउन आमाको सुन लिएर आऊ ?

कुनै दाग लुगामा, साह्रै जिद्दी हुँदा रहेछन्
धुलाउन कुन सरफ कि साबुन लिएर आऊ ?

ज्योति अनिश्चित
२०८१-फाल्गुण २८ 

कसैको दाबी हुँदैन।

बन्द तालाको एउटामात्र चाबी हुँदैन।
सय झूट एक सत्य माथि हावी हुँदैन।

उसले चोरेर ल्याएको अङ्क हुन सक्छ  
पूर्णाङ्क ल्याउँदैमा जो कोही मेधावी हुँदैन।

मैले देखेको, भोगेको र सुनेको कुरा पोखेँ  
दावा गर्दैमा यो मनमा कसैको दाबी हुँदैन।  

कहिलेकाहीँ फाइदाजनक नि हुन सक्छ  
थोरै सराब पिउँदैमा कोही सराबी हुँदैन।  

कसरी भन्छौ आखिर हाँगो एउटै हो भनी  
देखेँछु जुम्ल्याको पनि एउटै नावी हुदैन।

ज्योति अनिश्चित 
२०८१ फाल्गुण २७ 

परपीडक चाहिदैन।

मेरो गन्तव्यमा नपुर्याउने त्यो सडक चाहिदैन,  
चाहे आफन्त नै किन नहुन्, परपीडक चाहिदैन। 

म स्वाभलम्बी छु, आफ्नो कर्म आफैं गर्छु,
तिमीबाट आशै गर्दिनँ, त्यो नाता रगत चाहिदैन।

जब नीयतमा खोट हुन्छ, प्रतिष्ठामा आँच आउँछ,
जिउनुमा त परै जाओस्, मरेको बखत चाहिदैन।

न खोजेथे तिम्रो साथ कहिल्यै, न गुहार मागेथे,
यदि तिम्रो स्वार्थ रहेछ भने, भो! मदत चाहिदैन।

मिहेनत मेरो सङ्गी हो, आँट मेरो अस्त्र,
मलाई नछुनु, नचलाउनु, तडकभडक चाहिदैन।

मलाई मेरो छायाले मात्रै साथ दिए पुग्छ,
पाइलैपिच्छे छुरा घोप्ने, मलाई सङ्गत चाहिदैन।

मेरा सपना बिउँझाउने, संघर्ष नै मेरो ऊर्जा हो।
मलाइ म नै रहन देउ, तिमी फगत चाहिदैन ।

ज्योति अनिश्चित
२०८१ -११-२५