Tuesday, February 11, 2014

मुक्तक दोहोरी । -ज्योति खतिवडा अनिश्चित ।

24 August 2012 at 10:47
धेरै नै भयो हजुरको खबर
हामीले पाको छैन
तीन बिस कटेका ति मातापिताको
संझना आको हैन
घरमा एउटी जहान छन् भन्ने
भुल्नु पो भयो कि?
कान्छी बहिनीको विराम विषेक
अझ नि भाको छैन
हजुर संझना आको हैन

नआको हैन संझना सानु
फुर्सद पाउन्न म
घरको मर्म बुझेता पनि
अझ घर आउन्न म
माता र पितामा प्रणामरुपी
संझना टक्र्याएँ
बहिनीको निम्ती खर्चको जोह
कामले भ्याउन्न म
सानु फुर्सद पाउन्न म

हजुरको खबर नआउँदा याहाँ
मन कस्तो हुँदो हो
मनको व्याथा मनमै लुकाई
आँखाले रुँदो हो
सहरी रमझममा गाउँवेशी माया
हजुर नमार्नु है
हजुरको बोली हजुरको मायाले
मनमा छुँदो हो
हजुर आँखाले रुँदो हो

यो उराठ भुमीमा आशुले तिम्रो
कमजोर नबनाउ है
ति व्रिद्द माता पिताको कहिल्यै
चित्त नदुखाउ है
दुईचार वर्ष अझ आउन्न म
थुप्रो छ घरको रिन
यो सुनी उनको चिरिएला छाती
विन्ती नबताउ है
सानु चित्त नदुखाउ है

हजुरको आज्ञा शिरोपर गर्छु
स्याहार म गर्नेछु
बनि र बुतो गरेर पनि
अभावलाई टार्नेछु
बहिनीको लागि पो गाह्रो पर्छ
खर्चले भ्याउदैन
सासु र ससुरा नन्दको ख्याल
म आँफै गर्नेछु
हजुर स्याहार म गर्नेछु

म आँफैलाई भाग्यमानी ठान्छु
तिमीलाई पाउँदा
म ढुक्क हुन्छु घरको बारेमा
तिमीलाई संझिदा
हे दैव पुकार याहाँबाट गर्छु
विचल्ली नपार है
सानु तिम्रो फोटो छ साथमा
यादले सताउँदा
सानु यादले सताउँदा

आफ्नोमा ख्याल राम्ररी राख्नु
पराईको माटोमा
हजुरको माया आदर दिनेछु
हजुरको साटोमा
स्वास्थ हो ठुलो मानिसको धन
सो ख्याल राखे है
बाधा र अड्चन कहिल्यै नआओस्
हजुरको बाटोमा
हजुर पराईको माटोमा

म के बताउँ तिमीलाई सानु
धन्य छ आँफैलाई
गाउँघरमा मेरै संझना कोसेली
सुनाईदिनु सबैलाई
गाह्रो र साह्रो जे जस्तो परेनी
हरेश नखानु है
मनको वहलाई थाँतीमा राखी
आजलाई बाईबाई
सानु धन्य छ आँफैलाई ।

No comments:

Post a Comment