Tuesday, November 21, 2017

हैन भने तिमी मलाई के माया गर्छौ ?

प्रत्यक दिन
प्रभातमा लाली पोतिए सँगै
तिमी रात भरी
मलाई नि अङ्गालोमा बाँधेको
सपना बाट बिउँझेर
केवल  "शुभ प्रभात"
भनि सुरिलो ध्वनी सुनाउन
मलाई फोन गर्न सक्छौ ?
हैन भने तिमी मलाई के माया गर्छौ ?

तिम्रा परेली उग्रीदै
पोतिएको गाजल  सफा गर्दै
नयाँ जोश र उमाङ्गका साथ्
कहिल्यै नमैलिने मुटु बोकी
आज फेरी कहाँ भेट्ने भनि
कल्पिदै
त्यही कल्पनालाई
आँखाको नेत्रपटलमा कैद गर्दै
ती सारा कल्पनालाई
सत्चरितार्थ प्रस्तुत गर्न सक्छौ ?
हैन भने तिमी मलाई के माया गर्छौ ?


तिमीले भनेको समयमा
नपुगुँला ।
मेरा हजारौ कारण देखाएर
तिम्रो सामु
घुँडा टेकी
हातमा एउटा रातो गुलाफ्
दिएर क्षमा मागौँला ।
त्यो बेला
सारा कुरा बिर्सिएर
मप्रती नै समर्पित तिमी
मेरा
सम्पूर्ण गल्तिहरुलाई
माफी दिदै
हातमा रहेको
गुलावको फुल स्विकार गर्न सक्छौ ?
हैन भने तिमी मलाई के माया गर्छौ ?

मेरो ब्यस्ततम् समयमा
म तिमी बाट
टाढा हुन सक्छु ।
तिमीलाई घन्टौ सम्म
विना सम्पर्क
हाम्रै उज्जवल भविष्यको
परिकल्पना लाई
मुर्त रुप दिन
म अनवरत खटेको हुन सक्छु ।
त्यो बेला
मेरै पर्खाइमा
आँखाका नानिहरुलाई
पर क्षितिजमा छर्दै
तिम्रो कर्ण
मेरो वाणी सुन्न आतुर राख्न सक्छौ ?
हैन भने तिमी मलाई के माया गर्छौ ?

कसैले मेरो बारेमा
राम्रा नराम्रा कुराहरु
सुनाइदिन सक्छन ।
त्यो बेला
मेरो  बारेमा
अलिकती पनि
शंका नगरि
पछी त्यस्तै खुशीको क्षणमा
मलाई कत्ती पनि नलुकाइ
सुनेका सबै कुरा भन्न सक्छौ ?
हैन भने तिमी मलाई के माया गर्छौ ?
तिम्रो दुखको
या सुखको घडीमा
पलपल
मैले सम्झिए झै
मलाई सम्झिरहन सक्छौ ?
हैन भने तिमी मलाई के माया गर्छौ ?

तिमी निदाउँदाको क्षणमा
दिनभरिका तिता मिठा
कुराहरुबाट
तिक्तता हटाइ
केवल समधुर सम्बन्धको लागि
मिठा मिठा बातहरुमात्र
सम्झनाको खुत्रुकेमा
सुरक्षित राख्न सक्छौ ?
हैन भने तिमी मलाई के माया गर्छौ ?

ज्योति अनिश्चित ।


No comments:

Post a Comment