Sunday, April 26, 2020

अरुभन्दा भिन्न पाएँ।

जगतमा उनीलाई नजिकबाट चिन्न पाएँ।
रित्त‌ो निर्जन बाटोमा उनीसँगै हिन्न पाएँ।

नाता हाम्रो कस्तो भनुँ साथीभन्दा माथि
विश्वासिलो सम्बन्ध अरुभन्दा भिन्न पाएँ।

स्फटिकझैँ पारदर्शी करुणाकी प्रतिमुर्ती
टक्क सुने प्रेमकथा अनि मन खिन्न पाएँ।

समर्पण
रचना: ज्योति अनिश्चित।
2077 बैसाख 14

Thursday, April 23, 2020

दिलको क्यानभास।

अनमोल रत्न लाग्छ मुंगाजडित थ्यो मेरो।
न्यानो आभाष अनुभुती हुने प्रीत थ्यो मेरो।

जुनीभर साथ दिन्छु, तिमी हारे, हार्छु भनेनी
तिमी हार्दा नियतीले बनाको जीत थ्यो मेरो।

म उन्न खोज्छु पिरतीको माला प्रेम संगालेर
सिद्दिएन प्रेमगुच्छा आकाश संचित थ्यो मेरो।

नामेट तस्विर कुँदिएछ आँखाको नेत्रपटलमा
दिलको क्यानभास खाली अनिश्चित थ्यो मेरो।

समर्पण
रचना: ज्योति अनिश्चित।
2020 अप्रिल 23

Wednesday, April 1, 2020

हेरिरहन पाउँ।

रहर मेरो तिम्रा नयन हेरिरहन पाउँ।
न्यानो तिम्रो अंगालोमा बेरिरहन पाउँ।

जुनीभर तिम्रो साथ वर माग्थे पउनेभए
खण्डखण्डमा सुखदु:ख फेरिरहन पाउँ।

नागबेली तिम्रो केशराशीझैँ प्रेमलहरामा
लहराबनि तिम्रो वरिपरी लहरीरहन पाउँ।

समर्पण
ज्योति अनिश्चित
2076-12-19

अतिरञ्जित नहोस् हाम्रो सम्बन्ध।

अतिरञ्जित नहोस् तिम्रो मेरो सम्बन्ध कहिल्यै।
स्वस्फुर्त बगोस् नशामा प्रेम नहोस् बन्द कहिल्यै।

मिथ्या होस् बाहिर चलेका अनावश्यक हल्लाहरु
ताज गाढाहोस् मिलनको नहोस् मन्द कहिल्यै।

रेला ठट्टा एक पाटो हो आँशु रोदन अर्को पाटो
ग्लानी हुने कुनै मोडमा नआओस् गन्ध कहिल्यै।

मिलनमा उज्याला लाखौ तारा उदाउन् आकाशमा
तिम्रो मेरो प्रेमसागरको नबिग्रियोस् छन्द कहिल्यै।

समर्पण
ज्योति अनिश्चित
2076-12-19

Tuesday, March 31, 2020

पौरखी तिमी सुरु।

सुकृत्य तिम्रो चारैतिर सदाबहार फैलिरहोस्।
रङ्गहरु झिलमिल जीवनमा प्यार फैलिरहोस्।

क्षान्ति तिम्रो अहो! साच्च नैै धरती हौ तिमी
पौरखी तिम्रो पौरख सुरु! संसार फैलिरहोस्।

डेग दृढ रहोस् तिम्रो लक्ष्यले शिखर चुमोस्
लवलिन तिमी सँधै सुसमाचार फैलिरहोस्।

समर्पण
ज्योति अनिश्चित
2076-12-18

Monday, March 30, 2020

झुटो संसारमा असली तिमी।

सुशिल मृदुभाषी दयालु फरासिली तिमी।
रसरङ्ग जीवनमा भरिदिने हँसिली तिमी।

क्षार र अम्ल जसरी मिलेर लवण बन्दछन्
उसैगरि  जतै मिलिदिने मिजासिली तिमी।

पापपुण्यको लेखामा पुण्य भारी पर्छ होला
धन्य यो झुटो संसारमा एक असली तिमी।

यस्  गजलबाट बोलिदिए मैले हुन्थ्योहुन्थेन
याचनासहित रिक्वेस्ट पठाएँ रसिली तिमी।

समर्पण
ज्योति अनिश्चित
2076-12-17

Sunday, March 29, 2020

यता तिमी त्यता उनी।

गाह्रो हुन्छ यहाँ छुट्याउन को प्यारो भो भनि।
यता तिमी त्यता स्वेता अफ्ट्यारो भो भनि।

त्रासमा रहि म कहाँ सत्य बोल्न सक्थे नानी
भन्न कहाँ सकुँला र जीवन अँध्यारो भो भनि।

टहटह जुनझै लाग्छ उनी देखाभेट नभएर नै
टहरो उनकै शितल वाणीको उधारो भो भनि।

राखेर तिमीलाई नै साक्षी प्रेम प्रस्ताव राखौ कि
इच्छा तिमीसँगै जिउनेमर्ने भनुँ सारो भो भनि।

समर्पण
रचना ज्योति अनिश्चित
2076-12-16

Saturday, March 28, 2020

थुनछेक हुँदैन मायामा।

स्वेत र अश्वेत रंगभेद हुँदैन मायामा।
वेग अनिश्चित आवेग हुँदैन मायामा।

तारिफ जेजस्तो भएनि प्रेम, समर्पण
भक्ति र सद्भावबाहेक हुँदैन मायामा।

ट्वाक्क मिलेका जोडी कमै भए नि
टलक्क टल्किने लायक हुँदैन मायामा।

राखेर दिल धरौटी एकको दुइ हुनलाई
इश्वरबाट पनि थुनछेक हुँदैन मायामा।

समर्पण
रचना ज्योति अनिश्चित
2076-12-15

तिमी आउँदा खेरी।

स्वर्ग अनुभुति हुन्थ्यो होला तिमी सामु हुँदा खेरी।
वेग्लै आभाष हुन्थ्यो होला तिम्रो हातले छुँदा खेरी।

तारा र जुन मलिन होलान् नभमा तिम्रो अभावमा
भक्कानिदै शीत बनि झर्छ आँशु तिमी रुँदा खेरी।

ट्वाल्ल परि हेर्छन् होला रवि सामुन्ने तिमीलाई पाएर
टरी जाला आँधी-हुरी विपत्ति तिमी आउँदा खेरी।

रातकी रश्मी जुनको तिमी दिनकी उजेली जगको
इरादा साच्चै निश्चल हुन्छ होला तिमीले धुँदा खेरी।

समर्पण
रचनाः ज्योति खतिवडा
2076-12-15

Saturday, March 14, 2020

अलौकिक हिरा हौ तिमी।

ऋतुहरुमा हरियाली बसन्त हौ तिमी।
चाह ‌शिखर चुम्ने ज्वलन्त हौ तिमी।

निखारेर मनको दाग सँधैभरि उजेली
रौतेलीझैँ राम्री अनि हिमदन्त हौ तिमी।

लाएर प्रेम मातृप्रति गाएर गुन बाबाको
अलौकिक हिरा नपाइने अन्त हौ तिमी।

समर्पण
रचना ज्योति अनिश्चित।
2076 चैत्र 1

Tuesday, March 10, 2020

अंगाल्ने मन छ।

लक्षित गरि त्यो मुटुमा, प्रेमको टुकी बाल्ने मन छ।
तार्किक भएर नै मनभित्रको डरलाई फाल्ने मन छ।

न्याउरी झैँ रोयो मन हिजो, चङ्गा भाको छ मन आज
यौटा विश्वास्तम्भ खडा गरि शंकालाई ढाल्ने मन छ।

पापी यो दुनियाँ छ, मलाई तिनै आँखाले नहेर प्रिया
नेत्रमा कुँदिएकी तिमीलाई सहृदयी अंगाल्ने मन छ।

समर्पण
रचना:- ज्योति अनिश्चित
2076-11-27

Wednesday, March 4, 2020

एकअर्कामा दोषी नजरको।

मिलनका सुनौला झिलमिल तारा थिए सगरको।
अनायासै भइदियो जीवन वालुवासरी वगरको।

देखेको थिएँ मैले लामो यात्रा सँगसँगै हिड्नुपर्ने
बाटो फाट्यो दोबाटोमा लक्ष्य फरक भो सफरको।

तिमी साथमा हुँदा थोरै चिने , नहुँदा अझ बढि
स्वप्नदोषझैँ स्खलित भयो, तिलाञ्जली रहरको।

सम्बन्धमा फाटो आयो, लाल्छनाहरु लागे होलान्
खेद छैन अब कत्ति, बेखबर थिएँ आफ्नै खबरको।

मेरो के दोष थियो ?  तिमीमा के कमि भयो ?
समिक्षा अब गर्दिन, एकअर्कामा दोषी नजरको।

ज्योति अनिश्चित
2076-11-21

Saturday, February 29, 2020

अप्रेषित प्रेमपत्र।

शिखरतिर लम्किएका तिम्रा हरेक पथहरु।
खातिर पाउनु उदारता र निष्ठाका पदकहरु।

अचेल म मौन बसि हेर्छु अप्रेषित प्रेमपत्र
धिरजकी प्रतिमुर्तीलाई कोरिएका खतहरु।

काहाँबाट उठ्ठान गरूँ गुम्सिएका भावना म
रिक्त रह्यो अभावमा सुवाश र मधुरसहरु।

समर्पण
ज्योति अनिश्चित
2076-11-16

Wednesday, February 26, 2020

प्रभातमा उसको।

विश्वको तुला हलुको हुन्छ साथमा उसको।
स्वर्णिम पलानुभुती हुन्छ आभाषमा उसको।

क्या मिलनसार, मायालु व्याक्तित्व छ यिनको
सेरोफेरोमा हुँदा हर्षित हुन्छु खासमा उसको।

न कहिल्यै द्वेष राख्छन् न कहिल्यै रिसाउँछन्
पौरखी छन् सायद खुसी छन् ललाटमा उसको।

डेग दृढ भइहोस् सत्कर्ममा, शुभकामना छ मेरो
लक्ष्य पुर्ण भएको सुन्न पाउँ हर प्रभातमा उसको।


समर्पण
रचना ज्योति अनिश्चित।
2076-11-14

Monday, February 24, 2020

महफिल भने थिएन।

निष्ठुरीलाई भुलाउन हजुर मुस्किल थिएन।
दिन्थे तिमीलाई तर आँफैसँग दिल थिएन।

निर्मोहीले छियाछिया पारी छुरा रोपेर गई
मुटुभित्र पोलेपनि आँखा टिलपिल थिएन।

आकृति आँखैमा सिमित, म बन्द कोठाभित्र
दुनियाँ दुर भयो सिवाय याद धुमिल थिएन।

मेरा लागि पहिले ताली र वाहवाह सुनिन्थ्यो
अहिले एक्लै गाएछु त्यहाँ महफिल थिएन।

ज्योति अनिश्चित
कनपा 1
2076-11-11

Saturday, February 22, 2020

हाम्रो संस्कार हो।


हर कामको लागि घुस दिने, फोहोरी हाम्रो संस्कार हो।
बाआमाको गुण सर्छ नि! छोराछोरी हाम्रो संस्कार हो।

बाको गोजीको पैसा हुँदै परीक्षामा चिट पनि  सारेको हो
दुवो र फुल त द्रिष्टान्त हुन् हजुर, चोरी हाम्रो संस्कार हो।

मान्छे आफु प्रगति गर्दैन अरुको सफलताको डाह गर्छ
आङ्गैको भैसी लुकाई, खोज्नु जोहोरी हाम्रो संस्कार हो।

तिमी सत्तामा छौ वा सत्ताधारीका नातेदार हौ भने निर्भय
आसेपासेको भरमा गरे हुन्छ, मनपोरी हाम्रो संस्कार हो।

रचना ज्योति अनिश्चित।
2076-11-10

Wednesday, February 19, 2020

नामेट नाम कुँदिएछ।

मुगाको माला, सुनको शिरबन्दी चाहिन्न भन्छिन्।
नामेट नाम कुँदिएछ, चोखो माया पाइन्न भन्छिन्।

दलिन मेरो उज्यालो भएको छ उनको आगमनले
हासो आँशु हो जीवन, झुटो वाचा खाइन्न भन्छिन्।

लहरिने केशराशी, हिमाल बिर्साउने दन्तलहर छ
प्रेम आँफै हुन्छ रे,  माया लाउन धाइन्न भन्छिन्।

समर्पण
रचना ज्योति अनिश्चित।
2076-11-07

त्यो बेला।

जब भरोषा रहेन तिमीमा त्यो बेला।
लाग्छ बस्याभए परिधीमा त्यो बेला।

म आँफैमा यति धेरै टुट्ने थिइन होला
तिमी नभैदेकोभए छातीमा त्यो बेला।

लाग्थ्यो संसारमा तिमी उस्तै प्रेम गर्छौ
म जस्तै थिए गल्लीगल्लीमा त्यो बेला।

प्रेमको पहिलो अनुभव तिमी जो थियौ
थिएन कोहि अरु जीन्दगीमा त्यो बेला।

सायद कैद थियौ मुटुमा कैदमुक्त गर्दिएँ
मनमा बस्थ्यौ अनि परेलीमा त्यो बेला।

चोखो प्रेम थियौ र पो बिर्सन गाह्रो भयो
सम्झन्छु आउँथ्यौ हर सपनीमा त्यो बेला।

एउटा भुल गरेछु तिम्रो विकल्प खोजिन
विछोड भनिथ्यो होला लेखनीमा त्यो बेला।

समर्पण
रचना ज्योति अनिश्चित।
2076-11-07

Tuesday, February 18, 2020

समर्पण मेरो भो।

जिउने अनि मर्ने तिमीसँगै प्रण भो मेरो।
नियालेर हेर आफ्नै नयन दर्पण भो मेरो।

तारा जुन पनि फिका लाग्छ सगर सारामा
उषाकिरण तिमीः जीवन समर्पण भो मेरो।

प्रेमभाव फैलिरहोस् नरहोस् घृणा भावहरु
ति रसरङ्गलाई समेटी गजल अर्पण भो मेरो।

समर्पण
रचना ज्योति अनिश्चित।
2076-11-06

Sunday, February 16, 2020

क्षमायाचना ।

गिरफ्तारी भो आफ्नै वोलीवाणको।
तारिफ्दारी भो हत्केलाको प्राणको।

सुसाएर वग्यो पवन के सन्देश ल्यायो?
बेखबर भएँ हृदयमा रोपिएको काँडाको

दिलाइदेउ प्यारी जिनु मनको स्वच्छता
नरहोस् तिक्तता विन्ति ज्योति खतिवडाको।

समर्पण
ज्योति अनिश्चित
2076 -11-4