Wednesday, November 21, 2018

तिम्रो बारे फगतमा ।

सुवास छरेर बागमा मगमगाउनु जगतमा ।
पुरा हुन् आकांक्षाहरु हर प्रहर बखतमा ।

जिन्दगीको रफ्तारमा पछिफर्कि हेर्नु नपरोस्
ताराहरुझैँ चम्किरहनु सदा दिनमा रातमा ।

ढलपल होला जिन्दगीको तुला नडग्मगाउनु
कायम रहोस बोलिको गरिमा हर हालतमा ।

लक्ष्यमा अडिग रहुनु फराशिली सुपु तिमी
कसैले नराम्रो नभनोस् तिम्रो बारे फगतमा ।

रचना - ज्योति अनिश्चित । 

Sunday, November 18, 2018

ऊ नाङ्गो देखियो ।

सकिएसी मात्र थाहा भयो उदाङ्गो देखियो ।
सुकिलो मुकिलो लुगामा ऊ नाङ्गो देखियो ।

अरे यार देखेर थाहा हुन्न कति धुर्त भनि
उसको ध्येय अनि उदेश्य सब बाङ्गो देखियो ।

जे लाग्यो जे देख्यो यी चर्मचक्षुले त्यही लेखेँ
उसैको बोलीमा आवेगको फिलिङ्गो देखियो ।

मिथ्या थिए मैले जे सोचे हिजोअस्ती खेरि
कमजोर मानसिकताले विवेक अपाङ्ग देखियो । 

Wednesday, November 7, 2018

अर्थ रहेन लगावको ।

किन देखाउनु र विज्ञापन गर्नु तिमीप्रतिको प्रेमभावको ।
जब कोही खुशी हुन्नन् बोल्दैनन् थोरै वचन सद्भावको ।

म हाँसो आशु क्षणिक मानी एकोहोरो प्रेम गरिरहेथेँ
विर्सनु नै सही लाग्यो जिन्दगीमा अर्थ रहेन लगावको ।

तिम्रो हेराइमा नसा थियो, तिमी अनि अति नसालु
त्यही नसामा लठ्ठ थिएँ के लाग्थ्यो र नसा सरावको ?

यो झुटो दुनियाँमा, मेरो चोखो मायाको के महत्व र ?
आखिरीमा म नि पागल भएँ, चरीत्र मेरो खराव भो ।

ज्योति अनिश्चित। 

Friday, September 14, 2018

छोरीको अस्मिताहरु ।

सानैदेखी सिकाइएन हामीलाई सदाचारको पाठहरु ।
त्यसैले त दैनिक सुनिन्छ बलात्कारको घटनाहरु ।

कंचनपुरको निर्मलाको घटना सेलाउन नपाउदै आज
फेरी घट्यो रे - कहिले रोकिएला यो शृङ्खलाहरु ।

हेर्नेको चक्षु खराब, देख्नेको मानसिकता खराब
आखिर खराबिमै हुर्कदैछन् कलिला बचेराहरु ।

मलाई आजको हैन भोलिको चिन्ता लागिरहेछ
कसरी सुरक्षित हुन्छ भविष्यमा छोरीको अस्मिताहरु ।

ज्योति अनिश्चित ।
२०७५-०५-१५ 

बृस्तृत कसरी भनुँ ?

थाहा छैन जुन कुरा बृस्तृत कसरी भनुँ ?
बनाएर कुनै कहानी कथित कसरी भनुँ ?

मनमा केहि तर्कनाहरु आउँछन यदाकदा
मेरो मनोभावना हो फेरि रचित कसरी भनुँ ?

तपाईको भनाइमा केहि खास त अवश्य छ
डराएँ कि म ? अहँ हैन, त्रसित कसरी भनुँ ?

मानौ एकतर्फी नै सहि यदि चाह छ भने
निस्फिक्री भनिदिन्थे तर प्रीत कसरी भनुँ ?

मैले भावनाहरुलाई शब्दमा पोखिदिएँ
कसैले गाइदियो भने गीत कसरी भनुँ ?

मेरो स्वयं अन्तरमनको बिछिप्त बेदनाहरु
भन्नुहोस आफ्नै व्यथा अतित कसरी भनुँ ?

आफ्नै मनले जब धोका दियो नि दिज्यु
सुनाएर तपाइलाई मेरो हित कसरी भनुँ ?

ज्योति अनिश्चित ।
२०७५ भाद्र २९
दिवा १२:५१ बजे । 

Saturday, August 25, 2018

जफत होला नहोला ?

तिम्रो दिलमा मेरो दस्तखत होला नहोला ?
मेरो झैँ तिम्रो पनि कसरत होला नहोला ?

मैले टेक्ने जगमा अनि हेर्ने नभमा जस्तै
बाह्रै याम माया फुल्ने जगत होला नहोला ?

यी मुटुहरुको चुनाव भए तिमीलाई भोट भो
भनिदेउ मेरो लागि तिम्रो मत होला नहोला ?

यी ओठहरुले सधै तिम्रो नाम बर्बराइरहन्छन्
मलाई जस्तै तिमीलाई नि लत होला नहोला ?

भाको एउटा मुटु पनि तिमीलाई दिएको छु
त्यै मुटुरुपी धितो पनि जफत होला नहोला ?

Wednesday, August 1, 2018

स्पर्श छ यो मुटुमा ।

धेरै हातहरुको स्पर्श छ यो मुटुमा ।
तिम्रो चोखो प्रेम सहर्ष छ यो मुटुमा ।
धेरै संगत भो धेरै थरी मानिसहरुसँग
जे भएनी एउटा आदर्श छ यो मुटुमा । 

Wednesday, July 25, 2018

पुजिरहेछु पथ्थर आसै बिना ।

युद्द गर्नुछ अब मुङ्रो र बाँसै बिना ।
परास्त गर्नुछ सबलाई लासै बिना ।

खै किन म त्यो ढुङ्गो पुजिरहेछु
तर पुजिरहेछु पथ्थर आसै बिना ।

अब काम गरे-नगरेनि फरक पर्दैन
जब हिर्कायो घडिले बिकासै बिना ।

ब्यथा मुर्कुटालाई भनेर के फाइदा ?
जो मुग्दर्शक बनिदिन्छ सासै बिना ।

मलाई मेरो मनले के भन्छ थाह छ ?
के गरी खान्छस केटा त्रासै बिना ?

जन्जीरमा बाँचेका हुन्छन् ।

सबै आ-आफ्नु तकदीरमा बाँचेका हुन्छन् ।
हुनेहरु सुखमा नहुने पीरमा बाँचेका हुन्छन् ।

सदा सत्कर्म गर्ने गोविन्द केसीहरु समाजमा
जाजरकोट र डोल्पाको भिरमा बाँचेका हुन्छन् ।

चुनावमा भ्रमको खेती गरी जनता ठग्नेहरु भने
दिनहुँ फुलमाला र अविरमा बाँचेका हुन्छन् ।

ती शोसकहरुलाई कर तिरी पाल्नेहरु कठै
त्रीशुली र कर्णालीको तीरमा बाँचेका हुन्छन् ।

गर्ने थिए होला केहि यदी कुलमानहरु भए
विचरा तिनीहरु पनि जन्जीरमा बाँचेका हुन्छन् ।

मेरो देश समृद्द हुने थियो धेरै पहिलेबाट यदि
गुलामी नभइ सबै जागीरमा बाँचेका हुन्छन् ।

म मेरो देशमा यस्ता मान्छेहरु खोजिरहेछु
जो चौडा छाती र उँभोशीरमा बाँचेका हुन्छन् ।

परोढा अर्कैको थियो ।

सामुन्ने देखियो कोही मोहडा अर्कैको थियो ।
चाबुक उसैको होला घोडा अर्कैको थियो ।

उनिहरुको सामिप्यता देख्दा सायद लागेन
पछी पो थाहा पाएँ परोढा अर्कैको थियो ।

यो कलिमा को आफ्नु होला सोचिहेर त ?
जोसँग सहबास भयो जोडा अर्कैको थियो ।

जस्को आडमा तिमी माथी पुग्यौ नि हेर
उसैले खसाल्छ भुइँमा गोडा अर्कैको थियो ।  

Sunday, July 22, 2018

पासो प्यारो हुन्छ ।

दुखिया जनकोलागि गुनासो प्यारो हुन्छ ।
म बबुरो कठैकोलागी पासो प्यारो हुन्छ ।

एउटी अबोध चौधबर्षमा बलात्कृत भएपनि
हुर्कन्छ भ्रुण अनि त्यै नासो प्यारो हुन्छ ।

म शब्द शब्द जोडेर आत्मकथा लेख्छु
पाठक हुन्छन रिपु र हासो प्यारो हुन्छ ।

रत्ति मन पराउदैनन उसको कुरा गरेको
तर ऊ स्वंयलाई अरुको चासो प्यारो हुन्छ । 

Monday, July 16, 2018

हुँदैनन प्यारो पनि ।

जब साधु कहलाउँछ हत्यारो पनि ।
तब रगत बगाउँदछ धारो पनि ।

मसँग सबै छ भन्छ ज्योती बाहेक
सुन्दा पुर्ण झै लाग्छ अँध्यारो पनि ।

सबै आआफ्नै स्वार्थमा लिप्त छन्
कोही कसैको हुँदैनन प्यारो पनि ।

जब मनले जित्छ नि मस्तिस्कलाई
संसारमा केहि हुन्न अफ्ठ्यारो पनि ।

सायद भाग्य दुर भैदिएपछि यहाँ
परेली भैदिन्छ अनि तगारो पनि । 

Tuesday, June 12, 2018

मुनामदनकोझैँ हाम्रो प्रेमकथा

अलेख्य थियो, लेखिदिए, लेखेर के भयो ?
मनबाट हेर्ने चक्षु नै नभए ,देखेर के भयो ?
म सानी थिएँ त्यसबेला निर्णय दिन नै सकिन
कुर्दामा अझ दुई चार वर्ष, अबेर के भयो ?

पर्खनलाई केही गाह्रो छैन धैर्यता छ सानु ।
यो छातीभित्र असिम माया ममता छ सानु ।
अनेकौँ शृङ्गार लाए पनि कोही फिका लाग्दछ
हेर्ने चक्षु सुन्दर भए त्यसै सुन्दरता छ सानु ।

कति गर्नुहुन्छ मलाई माया विस्वास कती छ ?
यो फुच्चिप्रति हजुरलाई फेरि सन्त्रास कती छ ?
कतिको सकुँला दिलाउन भरोसा तपाइकै भनेर
भन्नुस मलाई हजुर मनमा मेरो बास कती छ ?

मिल्ने भएको भए देखाउँथे मुटु फुटाएर समिना
परेली तिम्रो भिज्न दिने छैन सुकाएर समिना ।
रोजेको तिमीलाई यी हजारमा बुझन मनमा
अंश अंश गरी जोडौला खुसी जुटाएर समिना ।

बिस्वासका आधार दिनुस मलाई वचनमा तपाइको
कोही छन् कि छैनन् भन्नुहोस मनमा तपाइको ।
कसरी भन्नुहुन्छ मप्रती भएको प्रेम या आकर्षण
म खुसी भर्न सकुँला त सदा जीवनमा तपाइको ।

हर कुराको अब प्रमाण खोज्छौ कसरी जुटाउँ ?
तिमी नै मेरो सिङ्गो संसार भनी कसरी सुनाउँ ?
एक सरो कपडा दुइ छाक खान दुखले सकुँला
चाह नै भए महङ्गा रत्नको भने कसरी पुर्याउँ ?

देखेर तपाइको म प्रतिको पिरतीले स्विकारे ।
तपाइको प्रेमको जीत भो हजुर राजीले म हारे ।
थाहा छैन यो मेरो निर्णय सही हो या होइन ?
मेरो मनको प्रेमको अंकुर त्यो मनमा जो सारे ।

यो तिम्रो नासो छातीमा टास्छु प्यार गर्नेछु ।
पिरतीको मुना झाङ्गिन्छ चाँडै स्याहार गर्नेछु ।
तिमीलाई कहिल्यै पनि दिनेछैन गुनासो गर्नलाई
मुनामदनकोझैँ हाम्रो प्रेमकथा पनि साभार गर्नेछु ।

Thursday, June 7, 2018

प्यारो लाग्छ मलाई ।

ओरालो हैन उकालो प्यारो लाग्छ मलाई ।
सम्म हैन भिरालो प्यारो लाग्छ मलाई ।

थाक्दैन यो शरीर पनि यदी तिमी र म
गर्यौ भने आलोपालो प्यारो लाग्छ मलाई ।

शिखर चढी सफलतालाई चुमिसकेपछी
खुसीमा त्यो अङ्गालो प्यारो लाग्छ मलाई ।

बा पनि गका हुन्, तिमी नि जान्छौ भने
हिड जाऔँ गोठालो प्यारो लाग्छ मलाई ।

माटोसँग प्यार छ, अब यिनीलाई नै बुझ्न
लानुछ कुटोकोदालो प्यारो लाग्छ मलाई ।

ठुलो हैन ससानाले घच्घच्याउँछ भने
आए हुन्छ भुइचालो प्यारो लाग्छ मलाई ।

ज्योति अनिस्चित । 

Wednesday, May 30, 2018

मलाई औसत चाहिँदैन ।

मन सफा होस कसैको चेहेरा खुबसुरत चाहिँदैन ।
साक्षी होस दुइ पवित्र मन अरु जमानत चाहिँदैन ।

माया गरेको तिमीलाई मनैदेखि, देखावटी हैन मैले
त्यसैले तुलना नहोस कसैसँग मलाई औसत चाहिँदैन ।

चाहे हजार झुट नै किन नहोस सत्य कहिल्यै डग्दैन्
मेरो चोखो मायाको पुस्टीमा कसैको अभिमत चाहिँदैन ।

लाखौ अस्त्र फिका हुन्छन मायाको सामु भने यो छाती
तिम्रो खातिर ढाल हुनेछ सानु अरु जरुरत चाहिँदैन ।

दिलाउन सक्छौ भने विस्वास म तिम्रै हुँ भनि दिलाइदेउ
मुटु चिरी हेर्नु छैन मायाको प्रमाण रातो रगत चाहिँदैन ।

विना भेटमा नि यादहरु पठाउनु प्रिया टाढा हुँदा पनि
सामिप्यताको आभाष देउ बरु समिपको बखत चाहिँदैन ।

नदिए हुन्छ ।

एक्लै तिमी जिउन सक्छौ भने उत्तर नदिए हुन्छ ।
मलाई रत्ती माया गर्दिनौ भने चिन्ता नलिए हुन्छ ।

तिम्रो पर्खाइमा पलपल निसास्सिएर मर्छु होला
तिम्रो मौनताले नै मारिदिन्छ भने बिष नपिए हुन्छ ।

गजल आउँछ मिलाएर लेख्यो भनेर नसोच्नु प्रिया
याद र आशुले लेखेको देख्दिनौ भने म नजिए हुन्छ ।

समी पहिल्यै च्यातिसक्यो बिश्वासको पानाहरु
यदी भरोशा दिलाउन सक्दिनौ भने मन नसिए हुन्छ । 

Friday, May 25, 2018

नविन नाता लगाउँ कि ?

प्रकाशको बेग चोरी तिमीलाई भेट्न आउँ कि ?
ज्ञानी नानीसँग नौलो नविन नाता लगाउँ कि ?

घिर्नी र पाङ्ग्रा जस्तै मिलिमिली तिमी र म
मिलनको नौलो अध्याय आजैबाट थालुँ कि ?

रेसा धमनी र शिराहरुमा तिम्रै नाउँ बग्छ सानु
अनि फुटाएर मुटु पनि तिम्रो तस्विर देखाउँ कि ?

निस्चय नि त्यो मनमा नि थोरै त प्यार होला
स्थाइ होस हाम्रो नाता मनमनै तिमीलाई चाहुँ कि ?

चिताबाट पनि उठुँ लागोस तिम्रो स्पर्श हुँदा खेरी
तगाराहरु हटाइ सारा, तिम्रो हात समाउँ कि ? 

Sunday, May 20, 2018

आफ्नै अच्छाइले पिरोल्छ ।

आजभोलि हरेक दिन थकाइले पिरोल्छ ।
भोक निन्द्रा अनि काम गराइले पिरोल्छ ।

बेलुकी फुर्सद निकालेर मनको बह पोख्छु
अनी फेरी उन्को जवाफ नाइले पिरोल्छ ।

म ननिको थिइन , समयले ननिको बनायो
लाग्दैछ मेरो आफ्नै अच्छाइले पिरोल्छ ।

खै के पाइन्छ पाइन्न समयले देखाउला
तर पनि खाइ न पाइको खटाइले पिरोल्छ ।

झापामा जन्मे झापाली नै हुँ नेपाली पनि
भिराइन्छ ट्याग जाली फट्याँइले पिरोल्छ ।

ज्योति अनिश्चित । 

बरु मरेको बखत चाहिँदैन ।

गर्नु तारिफ अगाडी नै बरु मरेको बखत चाहिँदैन ।
आफ्नै अस्मिता बेची बेची भो जमानत चाहिँदैन ।

केवल हाँसेर बोलिदेउ सत्रु त्यसै क्षय हुनेछ्न्
सत्रुको अगाडी मुस्कान हो अस्त्र तागत चाहिँदैन ।

तिमी सक्छौ भने उमङ्ग र खुशीको व्यापार गर
थालनी गर्न सफा मन काफी छ लागत चाहिंदैन ।

मलाई कहिल्यै आभाष भएन तिमीले माया गरेको
माया मुटुमा लेखिन्छ प्रिया कोरा कागज चाहिँदैन ।

तिमी रित्तिएर पनि पुर्ण हुनेछौ कोसिस गरेर हेर
जती बाँड्यो उति बढ्छ माया प्रिया बचत चाहिँदैन ।

- ज्योति अनिश्चित । 

Thursday, May 10, 2018

~स्व. दाजु पोषण कुमार गौतम(२०४६-२०६४) को गजल

मिलनका उज्याला थिए लाख आश
निभेको दियोझै हरायो प्रकाश ।

अविश्वास पाएँ नि तिम्रो मुटुमा
मैले रुवाएँ कि गडाएँ कि भासमा ? ?

बटुलेर सपना म बाँचिरहन्छु
त्यो आशु सहस्र अनि उच्छ्वास ।

ति सारा सुनौला विपना तिमीलाई
मिलनका उज्याला थिए लाख आश ।।

~स्व. दाजु पोषण कुमार गौतम(२०४६-२०६४)